Friday, April 7, 2017

Tyo Shanibaar!

शीर्षक विहिन | सम्पादन विहिन
#रब्बे डाँडा #सोनु निगम #सनिवार  #पुनित सर

सनिवार, जनुअरी ७, २०१७
शार्लोट, नर्थ क्यारोलिना

फुर-फुर खसी रहेका हिउँका कणहरु, बार्दलिमा जम्मा भएको हिउँको पातलो सतह, हरियो स- साना रुखहरु माथि चाँदीका गहना सरि लेपियेको हिउँ, नाँगो- अग्ला रुखहरुका नाङ्गै हाँगामा भुइ चुम्न अटेर गरेर बसिरहेका शिशाझैँ हिउँका अवशेष, टाढा टाढा देखेसम्म सेतो रंगको कब्जा भएको आनन्दिय दृश्यहरुले आजको सनिवार बिहानीको  सु मधुर आरम्भ भयो । शायद येही हो प्रकृति को शक्ति।

मंगोलियन हार्ट ब्याण्डको "हिउँ पर्यो पुरुरु" गीत गुन गुनाऊदै शार्लोटलाई बोकेर बार्दलिमा निस्किए। बिचरा एक वर्षको नानीलाई हिउँ पर्नुको के अर्थ होला र? बच्चाहरुलाई  त उकालि ओरालि सबै बराबर । “नानुलाइ चिसो हुन्छ है" भित्र बाट सुष्मिता सम्झाए पछि कोठामा फर्किए।

प्राय शुन्य रहने हाम्रो घर सासु आमा, साला बुहारिको उपस्थितिले हल्का रमझम भएको छ । भान्छा कोठाको टेबलमा जम्मा भएर बाहिर को हिउ हेर्दै, तातो तातो बिहानको नास्ता गर्दै हामि गफी रह्यौ। सधै झैँ फुर्सद भएकोले म गितार बजाउन बैठक कोठामा आए। यतिकै हिन्दि, नेपालि अनि अंग्रेजी गीत हरु गाउदै जादा सोनु निगम को दीवाना अल्बमका गीतहरु गाउन पुगेछु। नोस्ताल्जिया पनि मानव भावहरुको कस्तो शक्तिशालि आबेश हुदो रहेछ। चैत महिनामा एक्कासी बहने हुरी सरह पुराना यादहरु को आधि बेरीले भिजायिदियो। त्यसै त सानोसानो सम्झना समेटेर हिड्ने मान्छे म, त्यस माथि सनिबार को फुर्सदिलो हिउँले बिहानीमा पुराना यादहरुले उकुस मुकुस नै पार्यो । साँचेका मिठा यादहरु जीवनको गोरेटोमा हिड्नको लागि मेरो आड हुन।तिनै यादहरुको पोको फुकाउदा कहिले हर्षले साहस दिन्छ भने कहिले तिनै सुमधुर दिनहरु अब त के रचिंथे र भन्ने निराशापनाले गलाउछ ।

आज सोनु निगम को दीवाना अल्बम को गीतहरुले सम्झना बल्झाउने काम गर्यो । गोर्खा स्कूल को कम्प्युटर ल्याब, पुनित भट सर, हाल्फ़ प्यान्ट लगाएर घुम्ने हामि किशोरका बगाल, कम्प्युटर ल्याब अगाडी जम्मा हुने जुत्ता- चप्पलका भिड याद आयो। सम्झनाको पोको का नेर कति बेला फुस्किन्छ भन्ने थाहा न हुने!  सुष्मिताले बेला बेलामा आश्चर्य जनाउदै भन्छिन  "कसरि यति पुराना पुराना कुराहरुको डिटेल पनि याद हुन्छ हौ तिमीलाई?" "खै" अत्यन्त छोटो जवाफ फ़र्काउछु ।

जीवनको औपचारिक शिक्षा हासिल गर्नुपर्ने यात्राको क्रममा कक्षा ६ मा पुगेका हामि रमणीय रब्बे डाँडामा जीवन काटिरहेका थियौ।शनिबारको दिन पुरै डाँडानै एक किसिमको आराम मुद्रामा धकेलिएको थियो। हप्तादिन तेजिला अनि कमजोर विद्यार्थीको कोलाहलले गुञ्जने कोठाहरु सुति रहेका थिए, टेबल बेञ्च केवल नांगा मृत काठमा परिणित भएका थिए, बिल्डिंग अगाडीको चौर एक्लै घाम तापेर बसी रहेको थियो, अरु बेला शिक्षकहरू अनि बिद्यार्थीहरुको श्रंखला धान्ने बरण्डाहरु खालि थिए , बरु बिशाल अनि भुइँ टल्किएको देखिन्थ्यो। मौन डांडामा हामि किशोर बगाल मनोरंजन खोज्न हिडेका थियौ। हामि छात्रावासीहरुलाई त्यै सिंगो डांडा नै हाम्रो पाठशाला, घर आगन, गाउँ बजार सबै थियो। सरर हेर्दा नजरमा अटाउने जति पारि पारि का अरु डांडाहरु, गाउँ बस्तिहरु, तल सडकमा गुडी रहेका सवारीहरु, विभिन्न उदेश्यले हिडी रहेका बटुवाहरु, रब्बे डाँडालाई  तिन तिर बाट पटुकी झैँ कसेर बग्ने कटुवा खोलामा लुगा धुन, नुहाउन आउका स-साना जमातहरु हाम्रा लागि केवल बाहिरका संसार थियो। आँखा ले देखे पनि हामि भन्दा धेरै टाढा किनकि हाम्रो छात्रावास नै हाम्रो संसार थियो। हाम्रो संसार को आफ्नै नियमहरु थिए; नियमका पालनकर्ताहरु थिए, सजाय अनि पुरस्कारहरु थिए ।हामि स्वन्तन्त्र थियौ तर मुक्त थिएनौ।

दिउसोको खाना खाने तालिका सकेर सिंगो डाँडा नै स्पेन देशमा लिइने 'सिएस्ता' जस्तै स्थितिमा थियो। धेरै जसो जनसंख्या कोठामा आएर आ-आफ्नो फलामे पलंगमा सप्ताह मनाउदै थियो । नियम अनि अनुशासनले अडिएको हाम्रो सानो संसारमा आफ्नो प्यारो बिस्तारा माया मारी रमाइलो खोज्न हिडेका हामी कम्प्युटर ल्याब अगाडी केहि जुत्ता देख्दा छक्क पर्यौ। शनिबार को दिन अरुझैं सुत्नु पर्ने कोठा किन जागा छ ? भित्र चिहाउद़ा पुनित सर आफ्ना केहि साथिहरु संग गफ गर्दै, कम्प्युटर गेम खेल्दै सनिबार मनाई रहेका थिए। मन्द आवाजमा सोनु निगम को मिठो गीतले कोठा संगीतमय थियो, आधा बन्द झ्यालहरुले मधुरो घामलाइ मात्र अनुमति दिएका थिए । त्यसै पनि महत्वपुर्ण मानिने यस  कोठामा सनिबार जस्तो बिदाको बेला छिर्न पाउने कुरै हुदैन भन्ने हामीले राम्ररी बुझेका थियौ। दिउसोको अत्यास लाग्दो सुन्यतालाई जित्न हिडेका हामीलाई चिहाएको देखेर "हल्ला न गरेर आओ भित्र" मात्र के भनेका थिए पुनित सर ले, हामि २ सेकेन्ड भित्रै एक एक ओटा कम्प्युटर अगाडी आफ्नो डेरा जमाएका थियौ ।चप्पल फुकालेको याद भएन तर खुट्टा हेर्दा खालि थिए। नियम पालन गर्ने त स्वचालित प्रकृति नै भै सकेको थियो। मान्छे को बानि न पर्यो धेरै माग्ने; माग गर्यौ  “सर, गेम खेल्चम नि हामि पनि "। सर को हुन्छ को टाउको हल्लेर न सक्किदै सबै जना आ आफ्ना कम्प्युटर मा 'डेव' गेम सुरु गरि सकेका थिए। धेरै जसो छात्रावासी फगत फलामे पलंगमा सनिबार काटन रमाएको बेला हामि केहि भाग्यमानीका झुण्ड बिशेष सप्ताह मनाई रहेका थियौ। सोनु निगम ले "दिवाना तेरा" गाइरहेका थिए, बाहिर घाम अनि मन्द हावा कुस्ती खेली रहेका थिए, भित्र हामि मनोरंजन भेटेका बिजयी किशोरहरु किबोर्ड अनि माउश थिच्न ब्यस्त थियौ।