अन्तर्मनका कुराहरु:
मेरो जीवनले करिब तिस बसन्त पार गरिरहदाँ मेरो देश नेपालले पनि धेरै काचुली फेरेको महसुश हुन्छ। करिब एक दसकको परदेश बसाईले आफ्नो मातृभूमिलाई हेर्ने मेरो आफ्नै नजरियामा पनि आकाश-जमिनको फरक आएको छ। हिजोसम्म आफ्नो आत्मा-केन्द्रित भावाना र उन्मादले भरिपुर्ण देशप्रेममा लिप्त थिए भने आज विश्व मानचित्रमा आफ्नो देशको अस्तित्व खोज्ने भएको छु। मलाई सानै देखि हुर्किदै र प्रगति गर्दै आएको देख्नेहरु आज मलाई बयस्क भएको देख्दा जसरि समयको बेगप्रति नतमस्तक हुदो हून, त्यसै गरि म पनि नेपाली समाज एकपछि अर्को गर्दै भिबिन्न रुपमा परिवर्तित भएको देख्दा निकै अनौठो महसुस हुने गर्दछ! समयको बेगले एस अबस्थासम्म ल्याइपुराउदाँ खुसि पटक्कै लाग्दैन, दु:ख अटाउने ठाउँ पनि छैन। म कुनै बुद्धिजीवी, बिषेशज्ञको दाबि गर्दै यो लेखीरहेको पनि छैन, केवल आफ्नो जीवनका मनोगत भावना र अनुभवहरु बटुलेर पोख्दै छु। पछिल्लो समय एउटा चेतनशील युवाको दायित्व बोधले होला मलाई धेरै पछि कलम चलाउने जाँगर आयो।
चारैतिर कोलाहल देख्छु; मात्र देश बिग्रियो, भत्कियो भनेर! सबै क्रोधित र निराश तर उत्साहित हुँदा पनि बिबश छन। हाम्रो देशमा किन यस्तो आन्धकार छाएको होला भनेर एकै छिन् आफ्नै अन्तरमनको बिचार-बिमर्शले पक्कै पनि यो गाँठो फुकाउन सकिन्न। किनकि एउटा प्राचिन देशको उदय वा पतनमा हजारौ पिढीको लगानी र दोष भरिएको हुन्छ। तिनै दशकौ र सतकौ सतकका बिबिध चरित्रहरुले भरिएका पीढीहरु मार्फत कति आत्मा, नाता-पाता, रगत, भेष-भुषा र संस्कृतिको होम भएको हुञ्छ। नेवारी संस्कृतिमा चरम चाख राख्ने मेरा पिताका एक जना साथिले एक पटक भन्नु हुन्थियो " जुन संक्सृती को आफ्नै भाषा छ, चाड पर्व छ, आफ्नै खाना र परिकार छ, भेष-भुषा छ, त्यो जत्तिको धनि समाज अरु के होला र?" सायद उहाँले त्यति बेला नेवारी समाजको बयान गर्दै हुनुहुन्थ्यो तर त्यस अभिव्यक्तिले नेपाल देश नै समेट्छ जस्तो मलाई लाग्छ । तर बिडम्बना यति धेरै संस्कृति र परम्पराको धनि हुदाँ हुदै, आफ्नो समाज र देशको बारेमा सधैं गर्ब गर्ने कुरा सिक्दा-सिक्दै, कहिले झुक्न नपरेको गौरवशाली रगतको इतिहास आत्मसात गर्दा-गर्दै, हिमाल पहाड तराई जस्तो भौगोलोक विविधतामा लडी-बुडी खेल्दा खेल्दै आज हामि सबै किन यसरी पछारिएका छौ त? लक्ष्मी प्रसाद देवकोटा को कबितामा जस्तै इश्वरले हाम्रो यति सुन्दर देश, सभ्यता रचेर फेरी किन पछारेका होलान त? तर के इश्वरले पछारेका हुन् त? कि हामि आफै गलत बाटोमा दौड्दा-दौड्दै शिथिल भएर ढलेका हौ? यहि नै मेरो यो लेखको मूल प्रश्न हो!
समस्या के हो? यो हामि सबै नेपालीको मन पर्ने प्रश्न हो किनकि हामिसंग यसको उत्तर त्तयार छ! हामि समस्या नै समस्या मा हुर्केको समाज भएकोले यस बिषयमा लगभग सबै संग मानौ बिद्या वरिधि नै छ! महंगी, बेरोजगारी, कानून-कायदाको अनुपथिस्तिती, मानसिक, राजनीतिक र संरचनागत भ्रस्टाचार हाम्रो सजिला उत्तर हुन! सबैले गालि गर्ने अनि सराप्ने सरकारलाई नै हो! एउटा गर्हुङ्गो झोला दायाँ हातबाट बायाँ अनि बायाँबाट दायाँमा सार्दै हिडे जस्तै हामि आफ्नो समस्याहरु बिसाउनै नदिइ बोक्दै हिडेका छौ। बिसाउने चौतारी कसैले भेटाएको पनि छैन, यसको देह-संस्कार गर्न हामि आकुल-ब्याकुल छौ तर यो मर्दैन। जतिबेला पनि मुख सरकारको नै ताकेको हुनछौ तर सरकार कुनै एउटा जादुगरी यन्त्र हैन, हामीले नै छानेका समाजका प्रतिनिधिहरुको झुण्ड हो, ब्यबस्था हो। भ्रष्ट नेताहरु हाम्रै घर छिमेकका एक पात्र हून! हामीले र हाम्रा सोचका परिणाम-पात्र हुन। यसो भन्दा भन्दै हामि र उनिहरु को देश-प्रेममा यत्रो भिन्नता किन? एक अर्कालाई दोष लगाउने क्रम रोकेर बरु हामि अब आत्मिक अध्यन गर्दै आफुलाई नै नियालेर हेरौ। मैले यहि प्रयत्न गरे अनि विश्लेषण गरि बुँदागत रुपले प्रस्तुत गरेको छु।
१. आफ्नो धर्मको महत्व नबुझ्नु:
नेपाल सानो भए पनि विविधतापूर्ण छ! यति सानो मुलुकमा सबै धर्म अटेको छ! हिन्दु धर्म यहाँको मुख्य धर्म रही आएको हुनाले यसको प्रभाव पनि ठुलो छ! तर के हामीले तस्बिर र मुर्तिमा देवी-देवता चिन्नु बाहेक कहिले हाम्रो सनातन धर्मको सार बुझ्ने प्रयास गर्यौ ? कता छ हाम्रो तपस्या? कति गहिरा पाठहरु छन् धर्मकर्मका किताबहरुमा , तर कहिले वेद , रामायण, महाभारत वा अन्य धार्मिक ग्रन्थ पढेका छौ? पढेको र नपढेकाहरुको कति प्रतिशत भिन्नता छ? हामीले आफ्नै पुर्खाले गर्दै आएको परम्परा हरु त घोक्यौ तर कहिले त्यसको पृष्ठभूमिको बारेमा केहि शोध-खोज गर्यौ? केहि वर्ष अघिसम्म नेपाली मानब समाजमा छुवाछुतको धारणा भएको हाम्रो सामाजिक मान्यातामा ठुलो परिमार्जन भएको छ! अनि हामीलाई खाचो छ: धर्म र आफ्नै बिरासत पूर्ण इतिहास; यसको बिकाश अनि यसको शिक्षा। यदी हामीले आफ्नो धर्म बुझेको थियौ भने अलि धेरै मथिल्लो स्तरमा चेतनशील हुन्थ्यौ अनि यसरी सामाजिक बिद्ध्वंशमा भाग लिने थिएनौ! हो दिन छ भने रात पनि छ, राम्रो छ भने दुस्ट (नराम्रो) पनि छ! तर हाम्रो आफ्नो धर्मको उचित अध्ययनको कमिले हाम्रो समाजमा दुस्टताको परिमाण आधुनिकतासंगै बढेर गएको छ!
२. शिक्षा, कला अनि साहित्यमा लगानी नहुनु:
हाम्रो नेपाली समाज धर्म र संस्कृतिको भण्डार भएता पनि यसमा अरु मूल्य र मान्यता थप्ने काममा हामीले सधै कन्जुस्याई गर्यौ। मुख मात्र खोल्यौ , मुट्ठी खोलेनौ। थैलीबाट झिक्दै गयौ तर भर्न जानेनौ। एतिहाशिक रुपले अत्यधिक अर्थ राख्ने धार्मिक स्थल, मठ-मन्दिरहरु जिर्ण हुदै गए , कला-संकृतिका जगेर्ना गर्न खोलिएका केहि न्यून संघ-संस्था "पारखी" अनि हौसलाको कमिले थलिदै गए, बिद्यालयहरुमा आधुनिकता प्रवेश गर्यो तर नैतिक शिक्षाको दृस्टीले गुणस्तर -हिन हुदै गए। पश्चिमा मुलुकमा शिक्षा , सामाजिक संघ-संस्था प्रति अत्यधिक आदर छ , लगाव छ अनि लगानीको एउटा प्रसंशनीय बाताबरण छ। कर्ममा विश्वास राख्ने पश्चिम समाजका नागरिकहरुले शिक्षा एवं सामाजिक संस्थानहरुमा आफ्नो दक्ष अनुसारले आर्थिक सामाजिक र भौतिक सहयोग गर्ने गर्दछन। यसरी दिएको रकमको सरकार बाट अनुगमन र सुरक्षा पनि हुन्छ। निकै जवान देश अमेरिका जसको स्थापना भै-रहदा हामी मानव सभ्यताको चुलीमा थियौ , आज त्यहि अमेरिका शिक्षाको क्षेत्रमा बिश्वमा अग्रणी छ। हारबर्ड, Standford विश्वविद्यालय जस्ता प्रतिस्पर्दी संस्थाहरुको घर हो अमेरिका। कला , साहित्य अनि प्रबिधिको अत्यधिक प्रयोग , बिकाश अनि उपभोग हुने थलोको रुपमा आफ्नो नाम लेखीसकेको छ। छोटो कालचक्र मै यसरी उनिहरुको समाज समय अनुसार परिमार्जित भएको छ, मौलाएको छ , जिउँदो छ र अग्रगामी छ। तर हाम्रो देशमा पुजा-पाठमा दिइने दक्षिणा र चन्दा बाहेक संस्थागत अनुदान र भूमिका न्यून छ। दिनेहरुको संख्या नगन्य छ। देउसी-भैलोमा केहि फुटकर बाड्नु अनि राजनीतिक दादागिरीका संघ-संस्थाको रशिदको भरपाई गर्नु बाहेक हामीले आफ्नो मुट्ठी खोल्न सकेका छैनौ। यो सबै हाम्रो दुर-दृष्टिको कमि हो। जति सागुरो मानशिकता गर्दै जान्छौ , समाज पनि त्यति नै बिकारको बाटो जानेछ भन्ने समय मै बुझ्नु जरुरि छ! आफ्नो समाजलाई मल-जल गर्नुको कुनै विकल्प छैन। यस क्षेत्रको उचित सम्मान अनि सम्रंक्षण नभएकै कारणले हाम्रो समाज अहिले विश्वमानचित्रबाट बिलिन हुदै गएको हो। अब हामीसंग अनेकौ लिच्छवी -मल्ल कालका धरोहरहरु , केहि बचेका भेष-भुषाहरु , केहि जात्राहरु , अनि छिप्पिदै गएको गरिबी अनि उदाशिनाता बाहेक केहि रहेन। यदी सहि समयमा शिक्षा कला अनि साहित्यमा लगानी भएको भए बिस्व परिवेशमा हाम्रो छाप गहिरो रही रहने थियो।
३. घाँटी हेरेर हाड न -निल्नु:
आज को युग बिध्युतिय संचार को हो रे ! फेसबुक , ट्वीट्टरको रंगले संसारलाई नै लपक्क लिपेको बेला हामी नेपाली पनि रंगीन चाहन्छौ। तन, मन , धनले यही प्रतिसपर्धामा होमिएका छौ। किनेर, अनुरोध गरेर, सापट मागेर वा आत्मा बेचेर जसरि हुन्छ आफ्नो मुहार यस पुस्तिकामा छपाउन छ हामीलाई पनि। विश्वको हरेक तथ्यांकको सुचीमा लगभग मुनि पर्छ हाम्रो नेपाल, तर हाम्रो बजारको एक सयरले रिंगटा लगाउन काफी छ। कसले भन्यो गरिब? रेमितयांसको पैसाले धानेको खोक्रो अर्थतन्त्रको कमसल यन्त्र हामि। कोहि पनि कोहि भन्दा कम छैनन्। मानौ एउटा गरिबी लुकाउने बिशाल प्रतिसपर्धा चलि रहेको छ। एउटा अर्थहीन ,जड नभएको अमिलो दौडमा छ हाम्रो समाज। तर अरुले घोडा चड्यो भन्दैमा आफुले धुरी किन चड्नु। संसार जतासुकै पुगोस, पहिला आफ्नो अबस्था बुझौ. आफ्नो हैसियत अनुसार काम गर्दा आफु अनि आउने पिढीलाई सकस हुदैन। समाजमा बिद्धमान स्व-मुल्याकन को कमि प्रति दुख लाग्छ। महान दार्शनिक अरिस्तोतलले भनेका छन् “knowing yourself is the beginning of all wisdom.” अथार्त आफुलाई जान्न्नु नै बुद्धिमताको सुरुवात हो। को हौ हामी ? नेपाली भनेको के हो ? के हो हाम्रो नेपाली समाज ? हाम्रा तत्कालका समस्याहरु के हून? एपल कि स्यम्सुङ्ग भनेर अझै रोज्ने भै सकेका छैनौ हामी किनकि हाम्रा समस्या अझ गहिरा, बिशाल अनि कहाली लाग्दा छन्। भोकमरी छ, हरेक छेत्रमा नयाँ विचारहरु को घांटी निमोठ्ने भ्रस्टाचार अनि शिक्षा को कमि छ, पानि, बिजुली , बाटो जस्ता भौतिक पूर्वाधार कै बन्दोबस्त छैन ,कृषि प्रधान देश भनेता पनि येश क्षेत्रमा एक सुको को प्रगति छैन। यी प्रश्नहरुका पूर्ण जवाफहरु नपाउञ्जेल हामीले हाम्रो झुटा आकर्षणहरु तह लगाउन पर्छ। नत्र हामी रस हराएको फल हुन धेरै बाँकी छैन। याद गरौ एउटा प्राचिन देशको उदय वा पतनमा हजारौ पिढीको लगानी र दोष भरिएको हुन्छ। धनि बिकसित देशले गरेको प्रगतिहरू मात्र देखेर रयाल काढनु भन्दा उनिहरुको परिश्रमको पनि हेक्का राखौ। भरिपुर्ण हौ, खोक्रॊ होइन।
४. पढ्ने बानीको बिकास नहुनु:
हाम्रो समाजले पढ्न खोजेकै छैन। मैले आफु हुर्किने बेलामा बिरलै पढ्ने अभिभावकहरु देखे। हाम्रो बाल-बालिकाहरुलाई जहिले पनि स्कूल, कलेजको पाठ्यक्रमका किताब, ठेलीहरुले थिच्यौ। कहिले पनि बहुमुखी बिकाश हुने गरि पाठ्यक्रम बाहिरका साहित्य पढ्न प्रोत्साहन गरेनौ। त्यसो गर्नु गल्ति ठानिन्थ्यो, सजाय दियिन्थ्यो। मेरो बुवा एक उदार व्यक्ति हुनु बावजूद पनि त्यहि समाजको संकुचित सोचको पिडित हुनुहुन्थ्यो। किनकि उहाँ पनि यही समाजको फल हुनुहुन्छ, अनि उहाँले कसरी फरक सोच्न सक्ने ? अहिले सम्झंदा सहानुभूति छ उहाँ प्रति। हामीले सके जति धेरै इतिहास,साहित्य ,जीवनी, ग्रन्थ, कविता, एवं लेख-पढ गर्न आवश्यक छ। विश्व मानचित्रमा आफ्नो अस्तित्व राख्नुको लागी अपिहार्य छ। चेतनसिल एवं रचनात्मक नागरिकको बिकाश पढ्ने बानिले नै संभव छ।
५.मित्र मान्यजनको आदर नहुनु:
हामी गरिबी अनि पिछडिएको सोचले येति धेरै भास्सिसकेका छौ कि हामीले आफ्नो आत्मसम्मान गुमाई सकेका छौ। यसो हुदाँ हामीले आफ्नो मित्र मानवलाई गर्ने व्यवहार मा पनि हामी चुकेका छौ। कुनै पनि सार्वजनिक ठाउँमा धक्कम धक्का छ, अशीस्टता बढी छ। शिष्टाचार त दुर्लभ चरो नै भैसक्यो। धेरै जसो व्यापार र व्यवसायमा उपभोक्तालाई चर्को लागत अनि मूल्य बेहोर्न बाध्यताका बावजूद सामान अनि सेवा को गुणस्तर निकै तल्लो छ। यस्तो किन ? किनकि हामीलाई एउटा मित्र जीवनको आदर नै छैन। जवाफदेहिताको अबधारानालाई हामीले मल-जल गर्नै सकेनौ। हामीले यो किन बिर्सेका कि एउटै समाजका सहयात्री भएका कारणले एक ठाउँको ब्यापारी अर्को ठाउँको उपभोक्ता हुनु पर्नेछ ? लागत अनि मूल्य असुले अनुसार समाजमा सुबिधा किन छैन ? किन हामी आफ्नो आत्मसम्मानका साथसाथै नैतिकता पनि गुमाएको ? भानुभक्तको कविताले गिल्ला गरेजस्तै “अरु मरुन सबै दारा किटी-किटी गर्दै , सारा सुख-सयल मै गरु ” भन्ने दुखान्त समाज किन बिकसित हुदै गएको छ ? अनि त्यही नैतिकताको अभावले मित्र मानवको अबहेलना गरिरहेका छौ। चुनिएर गएका नेताहरु लाई जनताले प्रदान गरेको त्याग अनि बिश्वासको बोध छैन, दिन दहाडै बिशाल ठगि कायम छ, मेनपावर कम्पनीले दुइ पैसा कमाउन भनेर जान लागेकै मान्छेको पैसा लुट्छ, सरकारी कर्मचारीको अप्रभावकारी सेवाले हरेक आधिकारिक काम लम्बिने अनि लाग्ने शुल्क भन्दा बढी हुने, हरेक तहका व्यवसायले आफ्नो उपभोक्तालाई गुणस्तर सामान अनि सेवा प्रदान गर्नुका साटो पैसा कमाउने छोटो बाटो समात्नु नै हाम्रो नेपाली समाजको रोग बनिसकेको सकेको छ। याद रहोस! यो त्यही नेपाली समाज हो जहाँ हरेक भेट नमस्कारबाट सुरु हुन्थ्यो।
हाम्रो नेपाली समाज भौगोलिक अनि राजनीतिक ढंगले बाहिर समाजबाट तुलनात्मक धेरै समय सम्म बिच्छेद भएका कारणले हाम्रो आदिम बानि बेहोरा कायम नै छन। परिमार्जनको ठुलो त खाचो छ तर हामी आफ्नो मौलिकतालाई न गुमाएर पनि विश्वलाई अंगाल्न सक्छौ। आफ्नो मौलिक व्यक्तित्वको हरेक नेपालीले अधिकतम बिकास गर्दै आफ्नो सोचले आफ्नो सेरोफेरो बदलोस, देश बद्लिन समय लाग्दैन। भनिन्छ समस्या आउछ तर हल साथ् लिएर, हल देख्न अनि बुज्न समाजका नागरिकको बहुमुखी सोचको एकजुटताको आबश्यक छ। समाज परिमार्जित हुँदै जान्छ किनकि परिबर्तन नै संसारको सत्य हो। परिबर्तन स्थिर छ। परिबर्तन अंगालेर हामीले आफ्नो समाजलाई परिपक्व बनाउन न सके हाम्रो नेपाली समाज पनि कतै जुरासिक पार्क चलचित्रको डैनोसरहरु जस्तै त हुने हैनौ ? डर त छ तर राम्रै हुन्छ भन्ने आश पनि।
